
१४ फागुन,वीरगञ्ज । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको नवौं संस्करणको उपाधि मुनलाईट माविले उचालेको छ ।
नारायणी रंगशाला स्थित टीबी साह क्रिकेट मैदानमा आज भएको फाईनल खेलमा विद्यासागर माविलाई १७ रनले पराजित गर्दै मुनलाईट माविले यसबर्षको प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
फाईनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको मुनलाईट माविले १७.४ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको थियो ।
११४ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको विद्यासागर माविले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । आजको खेलको म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेण्ट, बेष्ट व्याटर र बेष्ट बलर पनि मुनलाईट माविका सेराज हवारी भएका छन् ।
त्यस्तै वेष्ट विकेट किपर मुनलाईटका अनुप कुमार, वेष्ट फिल्डर विद्यासागरका दिलराजन यादव र इमार्जिङ प्लेयर विद्यासागरकै जुनैद आलम घोषित भएका छन् । प्रतियोगितामा विद्यासागर दोश्रो र साउथजोन मावि तेश्रो भएका छन् ।
विजेत खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि संघीय सांसद तथा पूर्व वनमन्त्री डा.विरेन्द्र प्रसाद महतोले शील्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दिपक शाक्य, मधेस प्रदेशको नीति आयोगका सदस्य डा.हरिशंकर साह, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, पर्साका पदाधिकारी, तथा सदस्यहरु र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।