
१५ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सोसल मिडिया सञ्चालन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्ने भएपनि अराजकता मच्चाउनेलाई छुट दिन नसक्ने बताएका छन् । स्वतन्त्रताका नाममा समाजलाई विकृत बनाउने कुरा स्वीकार्य नहुने उनले बताए ।
डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सामाजिक मर्यादा भत्काउने कुरालाई छुट दिन नसकिने बताएका हुन् ।
‘सरकारले सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रक्षा गर्छ, एक इन्च पनि कमी हुन दिँदैन, तर अधिकार रक्षाका नाममा छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति र परम्परालाई होच्याउने, अपमान गर्ने र ध्वस्त बनाउने क्रियाकलापलाई छुट दिन सकिन्न,’ ओलीले भने ।
सामाजिक सञ्जालमार्फत कसैको कारोबार ध्वस्त बनाइदिने या कसैको परिवार छिन्न भिन्न बनाउने कुरालाई छुट दिन नमिल्ने उनले बताए ।
‘सामाजिक मर्यादा भत्काएर, घृणाको राजनीति र क्रियाकलाप फैलाउने, कसैको परिवार छिन्नभिन्न बनाइदिने, जिन्दगी बदनाम गरेर तहसनहस बनाइदिने, परिवार टुटाइदिने अविश्वास फैलाइदिने अनेक भ्रम फैलाउने यस प्रकारका काम नियन्त्रणभित्र हुनुपर्छ’ ओलीले भने ।