Logo

१५ फागुन,वीरगञ्ज । मधेश विश्वविद्यालयले स्थायी भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बिहीबार बिहान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले संघीय सरकारका मन्त्रीहरूलाई हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी गराउँदै, कानुनी प्रक्रिया छिटो टुंग्याउन आग्रह गरे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललगायत उच्च अधिकारीहरूसँगको छलफलमा डा. शाक्यले बहुदरमाई नगरपालिका–२ मा विश्वविद्यालयका लागि प्राप्त हुन लागेको जग्गाको विषयमा जानकारी गराएका थिए।

उनका अनुसार वीरगञ्जस्थित विश्वविद्यालयमा हाल कानुन र जनप्रशासन गरी दुई संकायमा २५० विद्यार्थी अध्ययनरत छन्। स्थायी क्याम्पसका लागि बहुदरमाईमा जग्गा उपलब्ध हुने वित्तिकै भौतिक संरचना निर्माण र शैक्षिक कार्यक्रम विस्तारको प्रक्रिया तीव्र रूपमा अघि बढाइने उनले बताए।

जग्गा प्राप्त गर्नका लागि स्थानीय तह, सर्वदलीय समिति, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायहरूको सहयोग आवश्यक रहेको भन्दै उपकुलपति शाक्य र रजिष्ट्रार विजयकुमार यादवले कानुनी प्रक्रिया शीघ्र टुंग्याउन पहल गरिदिन आग्रह गरेका छन्।

छलफलका क्रममा मन्त्री गुप्ता, अधिकारी, जयसवाललगायतले मधेश विश्वविद्यालयको हालसम्मको कार्यप्रगतिको प्रशंसा गर्दै कानुनी रूपमा आवश्यक पर्ने जग्गा उपलब्ध गराउने तथा विश्वविद्यालयको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


सम्बन्धित समाचार