Logo

१५ फागुन,वीरगञ्ज । अगामी शनिबारदेखि मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ सुरु हुन लागेको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा आर्दशनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म दोस्रो वीरगञ्ज गोल्डकप हुन लागेको हो ।

बिहिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमले सहभागिता जनाउने जानकारी दिएको हो ।

फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटी क्लब वीरगञ्जका उपाध्यक्ष सागर समशेर जबराले मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्न दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगञ्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

विगतमा वीरगञ्जमा चर्चित फुटबलका गतिविधि हुने गरे पनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुरमुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक श्रीवास्तवले बताए ।

प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो ।

 


सम्बन्धित समाचार