
१६ फागुन, वीरगञ्ज । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी– हुलाकी सडक केन्द्रित तराई मधेस जागरण अभियान सप्तरीमा आईपुगेको छ । फागुन १२ गते झापाबाट शुरु गरेको अभियान मोरङ्ग, सुन्सरी हुदै हिजो सँझ पाँचबजे सप्तरी प्रवेश गरेको हो ।
आज बिहानैदेखि सप्तरीमा अभियान शुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नी सापकोटा, पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु बर्षमान पुन, जनार्दन शर्मा, मातृका प्रसाद यादव, गिरीराजमणी पोखरेल लगायत पदाधिकारीहरु सहितको टोली आज बिहानैदेखि प्रभातीय भ्रमणदेखि जनताहरुसँग भलाकुसारीमा व्यस्त भएका छन् ।
अभियान टोलीलाई हिजो सप्तरीको कोशी ब्यारेजमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृका यादवले स्वागत गर्नुभएको थियो । अभियानका क्रममा आज बिहानै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सामुहिक खाजा खाएपछि जनतासँग भेटघाट शुरु भएको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज मातृका यादवले जानकारी दिए ।