Logo

१६ फागुन,सेढवा । विवाहको लगन शुरू भएपछि सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताहरूको भीड लाग्न थालेको छ । विवाहका लागि खाद्यान्न, किराना सामग्री, लत्ताकपडा र भाडाकुँडा खरिद गर्न नेपाली उपभोक्ताहरू प्रायः गरेर भारतीय बजार जाने गर्छन् ।

सीमावर्ती भारत बिहार राज्यको भेलाही, सिक्टा, मैनाटार, इनर्वा, भङ्गहा लगायतका बजारहरुमा यतिबेला नेपाली ग्राहकको भीड लाग्ने गरेको छ ।

भारतीय बजारमा सामग्री सस्तो पाइने गरेकोले नेपाली उपभोक्ताहरूको पहिलो रोजाइ भारतीय बजार नै हुन पुग्ने गरेका छन्। पटेर्वासुगौली गाउँपालिका–३ निवासी भागवत चौधरीले नेपालभन्दा भारतीय बजारमा लत्ताकपडाको मूल्य ३०/४० प्रतिशत सस्तो भएको बताए ।

एक–दुई थान कपडा खरिद गर्न नेपाली बजारमा जाने गरेको भएपनि विवाहका लागि ठूलो परिमाणमा कपडा खरिद गर्न भारतीय बजारमा किनमेल गर्नुपर्ने बताए । त्यस्तै भोजभतेरका लागि चामल, दाल, खाने तेल, मैदा, बेसन, खाद्य पदार्थ पनि खरिद गर्न भारतीय बजारको भर पर्नुपरेको बताए । सखुवाप्रसौनी गाउँपालिका–१ की सङ्गीता देवीले भारतीय बजारमा भारु २ सयमा प्रतिकिलो आल्मुनियमको भाडाकुँडा पाइने गरेको बताइन् ।

उनले नेपालमा सोही भाँडाको मूल्य नेपाली रुपैया चार सय प्रतिकिलो पर्ने बताइन् । पर्सा जिल्लाका अधिकांश उपभोक्ता विवाहको आवश्यक सामग्री खरीद गर्नका सीमावर्ती भारतीय बजारमा भर पर्ने गरेका छन् ।

यस क्षेत्रका जिराभवानी, ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, छिपहरमाई, कालिकामाई, पकहामैनपुर लगायतका बिवाह भोजको ८० प्रतिशत सामान भारतीय बजारबाट नै खरिद गर्ने गरेका छन्। त्यस्तै सीमावर्ती भारतीय बजार पनि नेपाली ग्राहककै कारण चल्ने गरेको त्यहाँका व्यापारीहरू बताउछन् ।


सम्बन्धित समाचार
भर्खरै