Logo

१८ फागुन, सर्लाही । मधेस प्रदेश सरकारले शनिबार सर्लाही जिल्लामा २ वटा निजी अस्पतालको अनुगमन गरेको छ । जसमा दुई ओटै अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।

दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिले अनुमति नलिई सञ्चालन गर्दै गरेको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह सहितको टोलीले शनिबार सर्लाहीको हरिवन स्थित अस्पतालहरूको अनुगमन गरेको थियो । मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि र उपकरणहरूको पर्याप्त व्यवस्था नभएको पाइएको छ ।

प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ । यसका साथै, सरकारले निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउने र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको जनाएको छ ।


सम्बन्धित समाचार