Logo

१८ फागुन,वीरगञ्ज । वीरगञ्जको अलौमा स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । भारतबाट घरायसी प्रयोजनका लागि सामानहरु ल्याउन नपाएपछि स्थानीयले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौं र वडा नम्बर २५ सिर्सियाका स्थानीयले घरायसी सामानहरु भारतबाट किनेर ल्याउँदा पत्रकारले फोटो खिचेर समाचार लेखिदिएको भन्दै प्रदर्शन गरेका हुन् । स्थानीय पत्रकारहरु दिनरात नाकामै बस्ने र त्यहाँबाट सामान ल्याउनेहरुको फोटा खिच्ने गर्दा प्रहरीले पनि कडाई गरेर सामान ल्याउन नपाएपछि उनीहरुले विरोध गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का स्थानीय छठु साहले घरको लागि चामल, प्याज लगायतका सामानहरु लिएर आउँदा फोटो खिचेर प्रहरीलाई पठाउने र प्रहरीले सामान ल्याउन नदिएर कडाई गर्ने गरेको बताए । सोही स्थानका जयराम भन्नेले पत्रकारहरु दिनभरी आएर सीमाक्षेत्रमा बस्ने र फोटो खिचेर विवाह, ब्रतबन्ध तथा घरायसी प्रयोजनमा ल्याउने सामानहरुको फोटो खिचेर अवरोध गर्ने गरेको बताए ।

त्यस्तै अन्य स्थानको फोटा खिचेर अलौलाई बदनाम गराउन खोजेको स्थानीय छठु साहले आरोप लगाए । सशस्त्र प्रहरीले घरायसी सामानहरु ल्याउन दिएपनि नेपाल प्रहरीले भने त्यो पनि रोक्ने गरेकोले विरोध गर्नुपरेको उनीहरुको भनाई छ ।


सम्बन्धित समाचार