Logo

२२ फागुन,काठमाडौं । ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री दीपक खड्काले कुलमान घिसिङ व्यक्तिका कारण नभई भारतले विद्युत दिएका कारण नेपालबाट लोडसेडिङ अन्त्य भएको बताएका छन् । तत्कालीन समयमा नेपालको लोडसेडिङ अन्त्य गर्न बिजुली दिएकोमा भारतलाई धन्यवाद दिनुपर्ने उनले बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले कुलमानले व्यक्तिगत रूपमा लोडसेडिङ अन्त्य नगरेकोले उनलाई नायक बनाउन आवश्यक नरहेको बताएका हुन् ।
‘लोडसेडिङको अन्त्य कुलमानले गरेका होइनन्, नेपालको आवश्यकता अनुसार भारतले विद्युत दिएर भएको हो । हाम्रो आवश्यकता परिपूर्ति गरिदिएकोमा भारतलाई धन्यवाद दिऔं । तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई दिनुपर्छ’, मन्त्री खड्काले भने ।

केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा २०७३ सालमा मन्त्रिपरिषद्बाट निर्णय गराएरै भारतसँग विद्युत खरिद गरिएको मन्त्री खड्काले स्मरण गराए । ‘सम्माननीय ओली प्रधानमन्त्री रहेको समयमा मन्त्रिपरिषद्मा निर्णय भएर खरिद भएको हो । लोडसेडिङको अन्त्य यहाँ एक जनाले गरेको होइन’, मन्त्री खड्काले भने ।

मन्त्री खड्काले कुलमानले सरकरलाई नटेरेको र आफूलाई कानूनभन्दा माथि ठानेकोले उनीसँग काम गर्न समस्या भएको बताए ।

‘कुलमानलाई नियुक्त गर्दा भदौ मसान्तभित्र नम्बर दिनुपर्नेका आधारमा उहाँको क्षमता हेर्ने व्यवस्था रहेछ । भदौमा उहाँले मूल्यांकनका लागि अनुरोध गर्नु भएन, असोजमा सरकारको तर्फबाट स्मरण गराइयो– कार्यसम्पादन मूल्यांकन गर्नुभएन’ मन्त्री खड्काले भने, ‘पुसमा आफैंले नम्बर दिएर ९८ दशमलव ९९ प्रतिशत आएको भनेर दिनुभयो । माननीय सदस्यहरू कति शिक्षक ब्याकग्राउन्डका हुनुहुन्छ । विद्यार्थी जाँचमा उपस्थित भएन भने कति नम्बर प्राप्त हुन्छ ?’

 


सम्बन्धित समाचार