
२२ फागुन, वीरगञ्ज । वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) भित्रै सवारी साधानका सामानहरु चोरी भएको छ । सीसीटीभी क्यामेरा र सुरक्षा गार्ड सहितको कडा सुरक्षा घेरा भित्र रहने एकीकृत भन्सार जाँचचौकी (आईसीपी) भित्रैबाट समान चोरी भएपछि सवारी धनी र सवारी चालकहरुले असुरक्षित महशुस गरेका छन् ।
वीरगन्ज भन्सार एकीकृत जाँच चौकी (आईसीपी) मा सम्बन्धित व्यक्तिहरु बाहेक अन्य व्यक्तिहरुको पहुँच नपुग्ने ठाउँमै सवारी साधनका ब्याट्री लगायतका सामानहरु चोरी भएपछि सवारी चालक र सवारी धनीहरुले चिन्ता व्यक्त गर्दै व्यावस्थापनमाथि आक्रोस समेत व्यक्त गरेका छन् ।
आईसीपी भन्सारमा सामान लोड गर्न गएका ट्रकको २ थान ब्याट्री र डिजल चोरी भएको सवारी धनी जगरनाथ प्रसाद कलवारले जानकारी दिए । नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कलवारले आईसीपी व्यावस्थापनले गाडी पार्किङ शुल्क बापत दैनिक नौ सयको हाराहारी शुल्क लिने गरेपनि सुरक्षामा लापरवाही गरेको बताए ।
उनका अनुसार पार्किङ्ग गरी राखिएको सवारी साधनबाट दुईवटा ब्याट्री र दुईसय पचास लिटर डिजल चोरी भएको छ । पार्किङ्ग गर्ने ठाउँमा सीसीटीभी क्यामेरा समेत नभएको उनले बताए ।
आईसीपी व्यावस्थापनको जिम्मा पाएको हिमालयन लजिर्पाक प्रालिका आईसीपी प्रमुख गणेश घिमिरेले भने अहिलेसम्म त्यस्तो घटना नभएको बताउदै त्यस विषयमा आफुले थप अनुसन्धान गर्ने बताउनुभयो । सुरक्षा गार्डहरु पनि तैनाथ रहने हुँदा सुरक्षा कमजोरीले सामान हराएको भए सुरक्षा गार्डहरुबाटै पनि तिराईएको पनि बताए ।