Logo

२५ फागुन, सर्लाही । सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ । जिल्लाको दक्षिणी क्षेत्रस्थित महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकोलले चालु सिजनका लागि उखु क्रसिङ बन्द गरेका हुन् ।

शनिबार बिहानबाट बन्द भएको अन्नपूर्ण चिनी उद्योगले नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिए । महालक्ष्मी चिनी उद्योग बगहद फागुन २१ गतेबाटै बन्द भएको उद्योगका प्रशासकीय प्रबन्धक शिवशङ्कर कुशवाहाले जानकारी दिए। कुशवाहाका अनुसार महालक्ष्मीले यस वर्ष १३ लाख ८० हजार १०४ क्विन्टल उखु क्रसिङ गरेको छ ।

अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योगले किसानको बाँकी भुक्तानी चैत तेस्रो साताभित्र भुक्तानी दिइसक्ने बताएका छन् । दुवै उद्योगले माघसम्मको भुक्तानी दिइसकेको दाबी गरेका छन् ।

हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले भने फागुन २७ गतेसम्म उखु क्रसिङ गरेर मिल बन्द गर्ने जनाइएको छ । उद्योगका उखु प्रबन्धक योगनारायण रजकले उद्योगमा जतिसक्दो चाँडो उखु ढुवानी गरिसक्न किसानलाई अन्तिम पटकको सूचना जारी गरिसकिएको र २७ गतेबाट उद्योग बन्द हुने बताए ।

किसानले उखु ल्याउन छाडेपछि इन्दुशङ्कर चिनी उद्योग विगत एक सातादेखि ‘नो क्यान’ मा सञ्चालन भइरहेको उखु प्रबन्धक रजकले बताए । उनका अनुसार उद्योगले २९ लाख ३१ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।

फागुन २७ गते उद्योग बन्द गर्ने बेलासम्म उखु क्रसिङ ३० लाख क्विन्टलसम्म पुग्ने इन्दुशङ्कर चिनी उद्योगले जनाएको छ । यस वर्ष उखु उत्पादन घटेकाले हरेक चिनी

उद्योगले किसानलाई एक हप्तादेखि १० दिनभित्रैमा भुक्तानी गरेका छन् ।

उद्योगबाट भुक्तानी लिन यस वर्ष खासै समस्या नरहे पनि सरकारले प्रदान गर्ने प्रतिक्विन्टल ७० रुपियाँ भने अनिश्चित नै रहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरे।

एभरेस्ट चिनी मिलमा पनि समस्या

महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलमा आवश्यक उखु आपूर्ति हुन नसक्दा मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार पूर्ण क्षमता अनुसार मिल सञ्चालन हुन दैनिक ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । त्यसबाहेक पनि कारखाना परिसरमा १० हजार क्विन्टल उखु जगेडा चाहिन्छ । यसबिच आवश्यकताको आधा पनि उखु आपूर्ति हुन नसक्दा क्रसिङ प्रभावित भएको हो । यस वर्ष एभरेस्टले मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु गरेको थियो । सुरुमा शीतलहरले गर्दा क्रसिङ प्रभावित भयो भने फागुन तेस्रो सातादेखि उखु आपूर्ति दैनिक १५ हजार क्विन्टलमा झरेको छ ।

कम्पनीका महाप्रबन्धक विनोद यादवले शनिबारसम्म क्रसिङ सुरु भएको ९० दिन पुगेको छ । यस अवधिमा सुरुका केही दिन मात्र कारखानाले पूर्ण क्षमतामा चिनी उत्पादन गरेको उनले जनाए ।

उनले भने, “यसबिच उखुको कमीले २३ दिन क्षमता घटाएर ‘लो क्रसिङ’ गर्नु पर्‍यो । त्यसपछि ‘नो केन’ ले गर्दा १३५ घण्टा उत्पादन ठप्प भयो । पछिल्लो तीन दिनदेखि दिनभर उखु जम्मा गर्ने र रात परेपछि बढीमा १० घन्टा मात्र क्रसिङ गर्न सकिएको छ ।”

आवश्यक उखु आपूर्ति हुन न सकेपछि मिलले तीन दिनअघि सार्वजनिक सूचना जारी गरी बाँकी रहेका उखु सक्दो छिटो उपलब्ध गराउन किसानलाई आग्रह गरेको छ । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार किसानका खेतमा उखु सकिँदै गएकाले उखु आपूर्तिमा कमी आएको हो । किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्नुपर्ने माग गर्दै आएका छन् । सरकारले भने कारखानाले दिँदै आएको साबिक ५४० रुपियाँमा २० रुपियाँ मात्र वृद्धि गरी प्रतिक्विन्टल ५६० रुपियाँ तोकेको छ ।

उखु कृषकले भने यो वृद्धिप्रति असन्तुष्टि जनाएका छन् । मूल्य असन्तुष्टिले उखु खेतीप्रति किसनहरूको मोहभङ्ग हुँदै गएकाले त्यसको असर चिनी कारखानाको उत्पादनमा परेको अध्यक्ष कुशवाहाले बताए ।


सम्बन्धित समाचार