
२६ फागुन, वीरगञ्ज । २६ फागुन, वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्साले नवप्रवेश पार्टी सदस्यलाई करवाही गरेको छ । पार्टीका नवप्रवेशी सदस्य अरमान खानलाई करवाही गरेको हो ।
नव प्रवेशी अरमान खानले छिपहरमाई गाउँपालिकामा भएको सामान्य झैझगडालाई जबरजस्ती करणीको झुटो मुद्दा बनाएर दर्ता गराउने, बैठककै समयमा पार्टी गोपनीयता भङ्ग गर्दै लाइभ भिडियो कल मार्फत सुराकी गर्ने गम्भीर अनुशासनहीन कार्य गरेकोले कारवाही गरेको जिल्ला इञ्चार्ज विजय महतोले जानकारी दिए ।
खानले फागुन १७ गते पर्सा जिल्लाको बहुअर्वाभठ्ठामा तराई–मधेश हुलाकी मार्ग जनजागरण अभियानको तयारी बैठकमा जनयुद्धकालदेखि समर्पित पूर्व जिल्ला कमिटी सदस्य तथा छिपहरमाई गाउँपालिकाका सचिव मोतिलाल यादव बैठकमा सहभागी भइरहेका बेला, बैठक सकिएपछि नियोजित रूपमा मोतिलाल यादवलाई बाटोबाटै पकाउ गराउने षडयन्त्रमा संलग्न भई पार्टी अनुशासन, विचारधारा तथा संगठनमाथि गम्भीर प्रहार गरेको पुष्टि भएको हुँदा, पार्टी विधानको धारा ९ (१) (ग) तथा धारा ३५ (१) (ख) र (घ) अनुसार साधारण सदस्य समेत नरहने गरी पूर्ण रूपमा पार्टीबाट निष्कासन गरिएको छ।