Logo

२७ फागुन,काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने दिन प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक पनि अनुपस्थित भएका छन् ।

मंगलबार प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दा ओली अनुपस्थित भएका हुन् । संघीय संसद्मा प्रचण्डले सम्बोधन गर्दा ओलीले कोशी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दैछन् । पूर्वराजावादीका गतिविधि बढ्न थालेपछि त्यसको खबरदारी स्वरूप प्रचण्डले संसद्मा सम्बोधन गर्न लागेका हुन् ।

यसअघि माघ २४ गते प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भन्दै प्रचण्डले बैठकमै गुनासो गरेका थिए । त्यो बेला ओली बिरामी परेको भन्दै संसद्मा उपस्थित भएका थिएनन् ।
विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन रहेको स्मरण गराउँदै मंगलबार प्रचण्डले सोधे– ’प्रधानमन्त्री उपस्थित नहुनु घमण्ड हो कि कुण्ठा ?’

विशेष समय लिएर प्रधानमन्त्रीले सम्बोधन गर्दा विपक्षी दलको नेता र विपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा रहेको छ । प्रधानमन्त्रीबाट हटेर प्रतिपक्षमा पुगेपछि भदौ १२ गते प्रचण्डले सम्बोधन गर्दा भने ओली संसदमा उपस्थित थिए । २०८१ असार ३१ गतेदेखि प्रचण्ड सदनमा प्रमुख प्रतिपक्षी दलको नेता छन् ।


सम्बन्धित समाचार