
२७ फागुन,काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको सांसद पद सुरक्षित भएको छ। सर्वोच्च अदालतले निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयलाई बदर गरेको हो ।
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार गरेको फैसलासँगै कार्कीको सांसद पद सुरक्षित भएको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । त्यस विरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि २०७९ कात्तिक १५ गते सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशपछि कार्की निर्वाचनमा सहभागी भएर विजयी बनेकी थिइन् ।
त्यसको २ वर्ष ४ महिनापछि उक्त रिटको अन्तिम किनारा लागेको हो । सर्वोच्च अदालतले निवेदनको माग बमोजिम रिट जारी गरिदिएको हो ।