Logo

२८ फागुन,काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले सरकार गठन भएको ८ महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्नेले सुशासनको गफ गर्न नमिल्ने टिप्पणी गरेका छन् ।

‘सुशासन पवद्धन तथा सार्वजविक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ माथि बुधवार प्रतिनिधि सभा बैठकमा विरोधको सूचना पेश गर्ने क्रममा साहले सरकारले गरिरहेको सुशासनको गफ झुटो भएको टिप्पणी गरेका हुन् ।

‘सरकार बनेको ८ महिना भयो । तर, प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको छैन । सुशासन र पारदर्शितामा प्रतिबद्ध सरकारले मन्त्रीको सम्पत्ति सार्वजनिक गर्दैन, अनि पारदर्शिताको गफ गर्न सुहाउँछ ?’ उनले प्रश्न गरे ।

भाषणमा सुशासनको गफ गरे पनि सरकार पारदर्शी नदेखिएको र भ्रष्टाचारलाई बढावा गरेको देखिने उनले बताए । ‘संसद् बोलाउने बेलामा अध्यादेश ल्याउने कुरा सुशासन हुन्छ ? विधिको शासन भनेको यही हो ?’ उनले प्रश्न गरे ।
गत माघ महिनामा ल्याएका अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले संसद्मा विधेयक टेबल गर्न लागेको हो । बुधवारको बैठकमा अध्यादेशलाई प्रतिस्थापन गर्ने ५ विधयेयक पेश गर्ने कार्यसूची छ ।


सम्बन्धित समाचार