
२८फागुन,वीरगञ्ज । पत्रकारलाई दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीका जुनियर अधिकृत कारवाहीमा परेका छन् । वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकममा कार्यरत सञ्चारकर्मी आशु कुमार सर्राफसँग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहमाथि कारबाहीको प्रक्रिया सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर कारबाही अघि बढाएको हो । सिंहले सर्राफसँग अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको टोलीले सशस्त्र एसपी रिाधेश्याम धिमालसँग सम्पर्क गरी दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।
खनालसँगै अन्य सञ्चारकर्मीले पनि सर्राफमाथि भएको अभद्र व्यवहारको मुद्दालाई जोडदार रूपमा उठाएका छन् । हिजो साँझ सञ्चारकर्मी सर्राफ वीरगञ्जको भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि नियमित सवारी चेकजाँचको दृश्य खिचिरहनुभएको थियो ।
त्यही बेला ड्युटीमा खटिएका असई सिंहले उनलाई भिडियो खिच्नबाट रोक्न खोजे । सर्राफले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै भिडियो खिच्न जारी राखेपछि विवाद हुँदा सिंहले सर्राफमाथि चरेस तस्करीको झुटो आरोप लगाउँदै अभद्र व्यवहार गरेका थिए घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारकर्मी र सर्वसाधारणबिच आक्रोश फैलियो ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले घटनालाई गम्भीरतापूर्वक लिदै असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर उनलाई स्पष्टीकरण मागिएको जानकारी दिए ।