
२८ फागुन,काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा धर्ना दिएको छ । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका शिक्षकहरूले बुधबार एमाले कार्यालयमा धर्ना दिन पुगेका हुन् ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । अब चैत १ गते माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिने तय भएको छ ।
शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।
महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ । पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।