
२९ फागुन,काठमाडौं । काठमाडौं उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरूलाई होली मनाउन नपाउनेगरी दिनभर सडकमा रोकिने छ । ’हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर गाडी रोकेर राखिन्छ,’ उनले भने ।
त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उनले बताए ।
प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुनेगरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ ।