Logo

फाइल तस्वीर

२९ फागुन,काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। गत साता बसेको मन्त्रिपरिषद् बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ८ सय ६९ रुपैयाँ तोक्ने निर्णय गरेको हो ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ । कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै छ । तर, सिँचाइ अभावले चैते धान उत्पादन धेरै क्षेत्रफलमा विस्तार हुन सकेको छैन । असारे र चैते गरी नेपालमा साढे १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।


सम्बन्धित समाचार