Logo

२९ फागुन,वीरगञ्ज । फागु पूर्णिमाको अवसरमा पहाडी क्षेत्रमा होली धुमधामका साथ मनाइँदै गर्दा केही युवाहरू सामाजिक कार्यमा समर्पित भएका छन् । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित श्री ज्ञान बाटिका माविको परिसरमा युवा अभियान मधेश प्रदेश को आयोजनामा विशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य शंकर चौधरी, विशिष्ट अतिथि ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

युवा अभियान मधेश प्रदेशकी अध्यक्ष गंगा श्रेष्ठले होली पर्वमा अनावश्यक खर्च र अमर्यादित गतिविधि रोक्नुपर्ने भन्दै बचत गरिएको रकम विद्यालयको पर्खाल रंगरोगनमा लगाइएको बताइन् । उनले भनिन्, “हामीले होलीको अवसरमा सकारात्मक सोच राख्दै विद्यालयको वातावरण सुधार्ने अभियान चलाएका हौं । होलीले रंग मात्र होइन, सद्भावको सन्देश पनि दिनुपर्छ ।”

प्रदेश सभा सदस्य शंकर चौधरीले युवाहरूको सामाजिक योगदान प्रशंसनीय रहेको बताए । उनले भने, “युवाहरूले शिक्षण संस्थाको विकासका लागि दिएको योगदान उदाहरणीय छ । यस्तो पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ ।”

ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले शिक्षा क्षेत्रमा गरिएको योगदानलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । “शिक्षाको विकासका लागि स्थानीय तहले निरन्तर साथ दिन्छ । युवा अभियानको प्रयास सराहनीय छ,” उनले भने ।

पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले विद्यालयको भौतिक संरचना सुधार्ने यस्तो कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै अन्य संस्थाहरूलाई पनि यस्ता सामाजिक कार्यमा सहभागी हुन आह्वान गरिन् ।

कार्यक्रमकै क्रममा साथी नेपाल नामक संस्थाले विद्यालयका पूर्व प्राथमिक तह (बालविकास) कक्षाका विद्यार्थीहरूका लागि खेलकुद सामग्री पनि प्रदान गरेको छ । साथै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र ब. नेवारलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो । रश्मी खड्काले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

युवा अभियान सामाजिक कार्यमा युवालाई परिचालन गर्ने तथा युवाको नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने नाफारहित सामाजिक संस्था हो । सातै प्रदेशमा सञ्चालन भइरहेकेको यो अभियानले युवालाई समाज सुधारतर्फ प्रेरित गर्दै सकारात्मक परिवर्तन ल्याउने कार्यमा योगदान पुरÞ्याउँदै आएको अभियानकी मधेश प्रदेश अध्यक्ष श्रेष्ठले बताइन् ।


सम्बन्धित समाचार