
२ चैत,नेपालगन्ज । गएरातिदेखि झडप, तोडफोड र आगजनीले तनावगस्त बनेको जयेन्दु बालसुधार गृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालबन्दीको आपसी विवाद झडपमा परिणत भएपछि बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृह अशान्त बनेको थियो। झडपमा चार दर्जन घाइते भएका छन्। घाइतेहरुको नेपालगन्जका अस्पतालमा उपचार भइरहेको छ।
बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बाल सुधार गृहलाई नियन्त्रणमा लिएर विवरणहरू लिने काम भइरहेको बताए। बालसुधार गृहमा २ सय ५५ जना बालबन्दी छन्।
गएराति ११ बजेदेखिको झडपमा परेर कम्तीमा ४२ जना घाइते भएका छन्। केही प्रहरी घाइते भएका छन्। शनिबार दिउँसो १ बजेसम्म प्रहरी बालसुधार गृहमा प्रवेश गर्न सकेको थिएन।
बालबन्दी बाहिर नै निस्केर प्रहरीलाई ढुंगा हान्दै लखेटेका थिए। बाहिर निस्केका बालबन्दी नजिकको गाउँमा गएर लुटपाटसमेत गरेका थिए। उनीहरुले बालसुधार गृहको तल्लो तलामा आगजनीसमेत गरेका छन्। नेपालगन्जबाट गएको दमकलले आगो निभाएको थियो।
ठूलो संख्यमा घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाहिर निस्केका बालबन्दीलाई घेरा हालेर बालसुधार गृहमा ल्याएको थियो। बालबन्दी बालसुधार गृहमा आएपछि प्रहरीले अगुवालाई सम्झाएर स्थिति नियन्त्रणमा लिएको छ।
बालबन्दी ढुंगा हान्दै बाहिर निस्किदा ठूलो संख्यामा प्रहरी खेतखेतमा समेत बसेकाले कोही पनि भाग्न नपाएको बताइएको छ।
जयेन्दु बालसुधार गृहमा पटक–पटक झडप हुने गरेको छ। यसअघिको झडपमा एक जनाको मृत्यु नै भएको थियो। १८ वर्षभन्दा कम उमेरका बालबन्दीलाई राख्ने भनिए पनि बालसुधार गृहमा २७÷२८ वर्षका युवालाई समेत राख्दा यसप्रकारको झडप हुने गरेको छ। प्रहरीले झडपमा उत्रिएका झगडालुलाई अन्यत्र सार्ने तयारी गरेको छ।
बालसुधार गृहमा पटक–पटक झडप भइरहने र गाउँमा समेत लुटपाट हुन थालेपछि स्थानीयले त्यसको विरोध गरेका छन्। डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बालसुधार गृहलाई राम्रो व्यवस्थापन गर्न या अन्यत्र सार्न आग्रह गरे।
‘रातविरातमा कहिले प्रहरी अघिअघि त कहिले बालबन्दी अघिअघि दौडेर गाउँमा पस्छन्, यसले गाउँले त्रसित भएका छन्,’ वडाध्यक्ष मिश्रले भने, ‘हामीले भोलि नै ज्ञापनपत्र बुझाउँछौँ। कि बालसुधार गृहको राम्ररी व्यवस्थापन गर्नु प¥यो होइन भने यहाँबाट हटाउनु प¥यो।’साभार देश सञ्चार