Logo

३ चैत, काठमाडौँ । चैत ५ गते देखि रिक्त हुने नेपाल प्रहरीको महानिरीक्षक पदमा तीन जना अतिरिक्त प्रहरी महानिरीक्षकहरुको प्रतिस्प्रर्धा देखिएको छ । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा रोलक्रममा अगाडी रहेका दीपक थापा आइजीपी बन्ने सम्भावना छ ।

आईजीपीको नियुक्तिबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सोमबार बिहान आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

प्रहरीको ३१ औँ आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।

२०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए ।

वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् । मन्त्रिपरिषद्ले मेरिट अनुसार नियुक्ति गरेमा थापा प्रहरी प्रमुख हुने सम्भावना उच्च छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू सोमबारबाट सेवा निवृत्त हुँदै छन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाले ।

कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ गतेबाट अवकाश हुन लागेका हुन् ।

टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशको प्रमुख छन् । भोला रावल गण्डकी प्रदेशको प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन् ।

कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए ।


सम्बन्धित समाचार
भर्खरै