Logo

४ चैत,वीरगञ्ज । वीरगञ्जको नारायणी आस्पतालमा तीन महिनादेखि सिटी स्क्यान मेशिनले काम नगर्दा बिरामीहरुलाई समस्या भएको छ ।

गरिब, विपन्नहरुको स्वास्थ्य उपचारको एकमात्र धरोहरको रुपमा रहेको नारायणी अस्पतालको सिटी स्क्यान मेशिन विग्रिएर थन्किदा बिरामीहरुको उपचार प्रभावित भएको हो ।
प्रत्येक दिन २० देखि २५ जना सेवाग्राही बाहिरको निजी स्वास्थ्य संस्थामा महंगोमा सिटी स्क्यान गराउनुपर्ने बाध्यता रहेको अस्पतालमा सिटी स्क्यान गराउन आउने सेवाग्राहीले गुनासो गरेका छन् ।

अस्पतालका प्राविधिकका अनुसार मेसिनको फ्युज खराब भएकोले सिटी स्क्यान बन्द भएको हो । चीनमा निर्मित मेशिनको फ्युजपनि चीनबाटै ल्याउनु पर्ने भएको र ल्याउन ढिलाई हुँदा सेवा प्रभावित भएको हो ।
फ्युज मगाउने पहल भईरहेको अस्पतालका रेडियोलोजी विभागका इञ्चार्ज प्रदीप साहले जानकारी दिनुभयो । एकदुई हप्तामा आउने उनले बताए ।

सिटी स्क्यान मेशिन खराब भएपछि सेवाग्राहीले सेवा पनि नपाएको र अस्पतालको आम्दानी समेत गुमेको छ । उनका अनुसार प्रत्येक दिन ३५ हजारदेखि ४० हजारसम्म बाहिर गईरहेको छ । रेडियोलोजी विभागमा जनशाक्ति पनि कम रहेको छ ।

पहिला सिटी क्यानमा चारजना, एम.आर.आईमा दुई जना गरी ६ जना रहेकोमा अहिले सिटी स्क्यान र एमआरआईमा एक एकजना मात्रै कर्मचारी रहेको छ । त्यस्तै डोर हाजिरमा रहेका ३ जनाले पनि काम छोडेका छन् । एकजना रहेका कर्मचारी पनि काज फिर्ता भएको छ ।

नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले सिटी स्क्यान मेशिनमा लाग्ने ट्युब खराब भएर मेशिन सञ्चालन नभएको बताए । उनले भने, ‘मेशिनको ट्युब फ्युज भएर माघ महिनादेखि नै मेशिन बन्द छ । अस्पतालले आपूर्तिकर्ता लुम्बिनी साईसेन्सलाई जानकारी गराईसकेको छ । दुई हप्तामा आपूर्तिकर्ताले उपलब्ध गराउने भनेको छ ।’

अस्पतालका जिन्सी तथा प्रमुख सुशील यादबले आपूर्तिकर्तालाई ताकेता गरिरहेको र यो महिना भित्रमा आईपुग्ने बताए । उनले भने, ‘सप्लायर्सले पनि बाहिरबाट मगाउने हो । हामी त्यसमै लागिरहेका छौं । यो महिना भित्र सप्लायर्सले उपलब्ध गराउछु भनेको छ । सामान उपलब्ध भएपछि चाडै सञ्चालनमा आउछ ।’


सम्बन्धित समाचार