
४ चैत,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन्।
सोमबार काठमाडौंमा राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तकको बिमोचन गर्दै प्रचण्डले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफल समेत नभएको बताएका हुन्। प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरु तयार रहेपनि यही सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे।
कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्दै बाहिर आएका चर्चामा सत्यता नरहेको उनले बताए। उनले कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउने उद्देश्यले सरकार बनाएको भन्दै वर्तमान सरकारप्रति सुरुदेखि नै विमति रहेको धारणा राखे।
प्रचण्डले इतिहासको चक्का पछाडी फर्काउने दुष्साहस भएको भन्दै सबै मिलेर त्यसको प्रतिवाद गरेर उपलब्धीलाई जोगाउनुपर्नेमा जोड दिए। राजावादीको क्रियाकपाल संविधान विपरित भएको र जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित रहेको उनको भनाइ छ।
प्रचण्डले स्वार्थका लागि नभइ जनताको आवश्यकताका आधारमा परिवर्तन नउल्टाउने गरि संविधान संशोधन गर्नुपर्ने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताको अपेक्षा अनुसार काम हुन नसकेकाले त्यसको समिक्षा र समाधानका लागि माओवादी अघि बढेको धारणा राखे।