Logo

४ चैत, काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

हालका आईजीपी वसन्तबहादुर कुँवर सोमबार राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि थापालाई नियुक्त गरिएको हो।

आईजीपीको दाबेदारमा तीन जना थिए। आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए।

उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए। थापा आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्।

तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्‌बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। विधेयक संसद्‌मा विचाराधीन छ।

हाल सीआईबी प्रमुख थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी र एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरिरहेका थिए।


सम्बन्धित समाचार