
५ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पस सहित केही ठाउँमा बाहेक देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मतदान जारी रहेको छ । वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसमा पनि शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । सञ्चारकर्मीहरूलाई मतदान केन्द्रमा प्रवेश रोक लगाइएको छ ।
क्याम्पस प्रशासनले सुरक्षाकर्मी परिचालन गरी मतदानको रिपोर्टिङ गर्न खोज्ने सञ्चारकर्मीहरूलाई क्याम्पसभित्र छिर्नबाट रोकेपछि सञ्चारकर्मीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले निर्वाचनको पारदर्शिता र क्याम्पस प्रशासनको नियतमाथि गम्भीर प्रश्न उठेको छ ।
सञ्चारकर्मीहरूमाथि लगाइएको प्रतिबन्धको विरोधमा सञ्चारकर्मीहरूले आन्दोलनको चेतावनी दिएका छन् । भने निर्वाचनमा उम्मेदवारी दिएका केही उम्मेदवारहरूले क्याम्पस प्रशासनमाथि पक्षपातको आरोप लगाएका छन् । मतदानको प्रत्यक्ष रिपोर्टिङका लागि क्याम्पस प्रवेश गर्न खोजिरहेका सञ्चारकर्मीहरूलाई क्याम्पस प्रशासनले गेटमै रोकेको छ ।
स्ववियु निर्वाचन निर्देशिका अनुसार भन्दै तीनजना भन्दाबढी सञ्चारकर्मीलाई प्रवेश रोक लगाएको छ । सञ्चारकर्मीहरूमाथि लगाइएको प्रतिबन्धको विरोधमा पत्रकारहरूले क्याम्पस प्रशासनको कदमलाई प्रेस स्वतन्त्रताको हनन् भनेका छन् । नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले क्याम्पस प्रशासन र स्थानीय प्रशासनसँग समन्वय गरेर सञ्चारकर्मीहरूलाई क्याम्पस प्रवेशको व्यवस्था मिलाउने प्रयास भइरहेको बताउनुभयो ।
स्ववियु निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूले क्याम्पस प्रशासनको कदमलाई निर्वाचनमा मिलेमतोको सङ्केतका रूपमा लिएका छन् । स्ववियु निर्वाचनलाई विद्यार्थीहरूको लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर मानिन्छ । तर, ठाकुरराम बहुमुखी क्याम्पसमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएपछि निर्वाचनको निष्पक्षता र पारदर्शितामाथि नै शङ्का उत्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरेर सञ्चारकर्मीहरूलाई क्याम्पस प्रवेशको व्यवस्था मिलाउन पहल गरिरहेको छ । सञ्चारकर्मीहरूले स्थानीय प्रशासनले पनि क्याम्पस प्रशासनको कदममा मौन समर्थन गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्ववियु निर्वाचनमा सञ्चारकर्मीहरूमाथि लगाइएको प्रवेश प्रतिबन्धले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । क्याम्पस प्रशासनको मौनता, उम्मेदवारहरूको पक्षपातको आरोप र सञ्चारकर्मीहरूको विरोधले घटनालाई थप जटिल बनाएको छ । निर्वाचनको निष्पक्षता र पारदर्शिता कायम गर्न क्याम्पस प्रशासनले तत्काल कदम चाल्नुपर्ने माग उठिरहेको छ ।
यसैबीच वीरगञ्ज नर्सिङ कलेजमा भने शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको छ । बिहान ११ बजेदेखि मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । २७३ मतदाता संख्या रहेको वीरगन्ज नर्सिङ कलेजमा यो समाचार तयार पार्दासम्म एकसय २७ मत खसेको निर्वाचन अधिकृत अञ्जु महतोले जानकारी दिनुभयो ।
वीरगन्ज नर्सिङ कलेजमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । यसअघिको स्ववियु निर्वाचनमा अनेरास्ववियु निर्वाचित भएको वीरगन्ज नर्सिङ क्याम्पसमा यसपटक त्रिपक्षीय भीडन्त भएको छ । अखिल क्रान्तिकारी आफ्नो नयाँ इतिहास रच्ने दाउमा छ ।
नेविसंघले पनि आफ्नो पूरानो विरासत फर्काउने प्रयासमा छ भने अनेरास्ववियु आफ्नो अघिल्लो स्थानलाई कायम राख्न चाहन्छ । अन्य क्याम्पसहरुमा बिहान ८ बजेदेखि मतदान समय तोकिएपनि वीरगन्ज नर्सिङ क्याम्पसमा भने बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।