
५ चैत,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरका वडाध्यक्ष सुनील गुप्तालाई बारा प्रहरीले हिरासतमा लिएर डाँका, अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएको छ । प्रहरीले चैत्र तीन गते साँझ पक्राउ गरी बारा जिल्ला अदालतबाट प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट अनुमती लिएको हो ।
चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप गुप्तामाथी लागेको छ । उनीमाथि डाँका ,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाराले मुद्धा चलाईएको बारा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.७ को कार्यालयलाई आवश्यक ब्यवस्थापनकोलागि पत्र लेखेको छ । । चैत्र १ गते राती साढे नौ बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो । सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो ।
लाइसेन्स प्राप्त बन्दुक घरमा राखेका गिरीले आफ्ना छोरा तथा नातीमाथी वडाध्यक्ष सहितको समुहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताएका छन् । शुरुमा जिल्ला प्रशासन कार्यालयले दुबैपक्षलाई राखेर घटना मिलाउने प्रयास गरेपनि सहमती हुन नसकेपछि आइतबार बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको थियो ।
यो पनि पढ्नुहोस् :-
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ७ का अध्यक्ष गुप्ता पक्राउ
जितपुर सिमराका वडा अध्यक्ष गुप्तालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति