Logo

१० चैत,काठमाडौं । चालु आर्थिक वर्ष २०८१ /८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ ।

जसमध्ये विगत आठ महिनामा १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ अर्ब ६४ करोड रुपैयाँको धान आयात भएको थियो । तथ्याङ्कले धानको आयात करिब दोब्बरले बढेको देखाउँछ ।

त्यस्तै, आठ महिनामा १२ अर्ब ३६ करोड ७२ लाख रुपैयाँ बराबरको चामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

धान तथा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब रुपैयाँमा रासायनिक मलको अनुदानका लागि विनियोजन गरेको छ । सरकारी अनुदान बढ्दै गए पनि धानचामलको आयात घट्नुको सट्टा झन् दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ । मुलुकमा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा ठुलो परिमाणमा खाद्यान्न आयात भएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा २२ अर्ब बराबरको धानचामल आयात भएको थियो ।

यस वर्ष आठ महिनामै २९ अर्ब बराबरको धानचामल आयात भएको छ । नेपालमा वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा र मसिनो बास्नादार चामलको प्रयोग धेरै हुन थालेपछि यस वर्ष धानचामल आयात वृद्धि हुँदै आएको छ ।

 


सम्बन्धित समाचार