Logo

फाइल फोटो

१० चैत,वीरगञ्ज । वीरगञ्जको एक परीक्षा केन्द्रमा एसईई परीक्षाको मर्यादाविपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षसहित ५ जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिकाको सुर्जीदेवी माध्यमिक विद्यालयमा परीक्षा समन्वय समितिको अनुगमनका क्रममा उनीहरूलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। परीक्षा केन्द्रमा अनियमितता भएको पाइएपछि केन्द्रको सबै टोली नै परिवर्तन गर्ने तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालले अनुगमनका क्रममा परीक्षा केन्द्रको गतिविधि सन्तोषजनक नभएको र त्यसैले तत्काल केन्द्राध्यक्षसहित ५ जनालाई नियन्त्रणमा लिएको बताए। परीक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले लगातार बैठक, छलफल तथा अनुगमनको कार्यलाई तीव्रता दिएको छ।

परीक्षा सुरु हुनुभन्दा अगाडि नै प्रमुख जिल्ला अधिकारीले सबै सरोकारवालालाई बैठक राखेर परीक्षालाई मर्यादित बनाउन सहयोग गर्न आग्रह गरेका थिए। उत्कृष्ट काम गर्ने केन्द्रलाई १० हजार रुपैयाँको नगद पुरस्कार दिने घोषणा पनि गरिएको थियो। आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा थियो ।


सम्बन्धित समाचार