१० चैत,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन्। नेपाली कांग्रेस बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो टिप्पणी गरेका हुन्।
सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक भूमिकामा बस्न नसक्ने व्यक्ति भएको दाबी गरे। “उहाँ संवैधानिक भएर बस्ने व्यक्ति होइनन्। यदि उहाँलाई कुनै भूमिका दिन नै मन छ भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ। तर, मलाई विश्वास छ, त्यसो गरेपछि राप्रपा पनि पछुताउँछ,“ देउवाले भने।
यति मात्र नभई, देउवाले राप्रपाले पूर्वराजालाई पार्टीमा नभित्र्याए उनले आफ्नै पार्टी खोलेर आए पनि हुने चुनौती दिए।
देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति पनि नभएको बताए। “नेपालमा राजतन्त्र फर्किने सम्भावना अब छैन। ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,“ उनले भने।
अन्तमा, देउवाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई गणतन्त्रको पक्षमा एकजुट भएर लाग्न निर्देशन दिएका छन्।















