Logo

१० चैत, सेढवा । पर्साको ग्रामीण भेगमा चैते धानबाली अन्तर्गत हर्दिनाथ– १ अर्थात (१४४२) जातको धानबालीको रोपाई शुरु भएको छ । जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रमा रहेका ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाँउपालिका, पर्सागढी नगरपालिका तथा बीरगंज महानगरपालिकाका केही वडाका किसानहरुले हर्दिनाथ– १ धान रोपाई शुरु गरेका हुन् । तोरी बाली, कार्तिकी सुर्ती तथा अन्य बाली भित्र्याई सकेका र सो खाली जमिनमा किसानहरुले हर्दिनाथ – १ धानबालीको रोपाई शुरु गरेका छन् ।

ठोरी गाउँपालिका वडा नम्बर–५ क्षेत्रीलाईनका किसान बलराम कोर्मोचाका अनुसार फागुन महिनाको पहिलो सातामा ब्याडमा राखेका बीऊ रोपाई गर्नका लागि तैयार भएकाले किसानहरुले रोपाई थालेको बताए । चैते धानको उत्पादन राम्रो हुने तथा खाना पनि निकै मिठो हुने हुँदा बिगतका समयमा भन्दा अहिले यसको खेती बढेको बताए ।

कतिपय किसानहरुले यो बालीको रोपाई सकेका छन भने कतिपय किसानहरुले खेतमा पानी लगाउने, आली लगाउने कार्यमा व्यस्त रहेका किसान कोर्मोचाले बताए । यसक्षेत्रका अधिकांश नागरिकहरु रोजगारीका लागि बिदेश तथा शहर केन्द्रित भएका कारणले छिमेकी गाउँपालिका जिराभवानी तथा सिमावर्ती भारतीय गाँउबाट मजदुर ल्याउने गरेको किसान कोर्मोचाले बताए ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नं २ मकवानीटोलका किसान बिगा महरा चमारले सो गाउँपालिकाको वडा नं १ र २ को खेती योग्य जमिनको ७५ प्रतिशत जमिनमा हर्दिनाथ – १ को खेती हुने गरेको बताए । अन्य २५ प्रतिशत जमिनमा सुर्ती तथा मकै बालीको खेती हुने गरेको किसान चमारले बताए । रोपाईका लागि अहिले बीऊ तैयारी नभएकाले रोपाई शुरु नभएको किसान चमारले बताए। तर किसानहरुले खेतको खनजोत, रासायनिक मल तथा अन्य तैयारीमा जुटेको उनले बताए।

त्यस्तै सखुवाप्रसौनी गाउँपालिका वडा नं १ सखुवनियाका सुरेन्द्र महतो थारुले केही किसानहरुले रोपाई शुरु गरेको बताए । सो क्षेत्रमा करिब पचास प्रतिशत जमिनमा चैते धानबालीको खेती हुने गरेको थारुको भनाई छ ।

हर्दिनाथ– १ धानबालीको रोपाई जुन समयमा गर्न मिल्ने भएकाले कतिपय किसानहरुले ब्याडमा बीऊ छर्ने कार्य समेत गरिरहेको किसानहरुले बताए । अहिले छरेको बीऊ गहुँबालीको कटानी गरी सकेपछि सोही जमिनमा यसको रोपाई गर्न मिल्ने किसानहरुले जनाएका छन् ।

यो बाली ९० दिनमा भित्र्याउन सकिने भएकााले सो बालीको कटानी गरी पुनः धानबाली(दतुरा) लगाउन मिल्ने गरेको किसानहरुको भनाई छ ।
बिगतका २÷३ बर्षदेखि किसानहरुले यो बाली लगाएर प्रति कट्ठा ५ मन (२ क्वीन्टल) देखि ८ मन ( साढे तीन क्वीन्टल) उत्पादन गर्दै आएका छन् ।


सम्बन्धित समाचार