११ चैत,वीरगञ्ज । नेपाली काङ्ग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा आगामी बैशाख ३ गते बारा आउने भएका छन्। उनी नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय भेलाको प्रमुख अतिथिका रुपमा बारा आउन लागेको सो क्षेत्रका सचिव युवा नेता राजेश भण्डारीले जानकारी दिएका छन्।
युवा नेता थापाको आगमनसँगै भेलाको तयारी तीव्र पारिएको भण्डारीले बताए। नेपाली काङ्ग्रेसलाई एकजुट बनाउँदै जनताको पहिलो साथीको रुपमा स्थापित गर्ने महत्वपूर्ण उद्देश्यका साथ महामन्त्री थापा बारा क्षेत्र नम्बर ३ को भेलामा सहभागी हुन लागेको उनको भनाइ छ।
महामन्त्री थापालाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गर्न नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर ३ का सभापति प्रभात कुमार चौरसिया, सचिव राजेश भण्डारी, युवा नेतृ एवं जितपुर सिमरा उपमहानगरपालिकाको उपमेयर प्रत्यासी मेघा शाही, र तरुण दलका केन्द्रीय सदस्य सुबास जयस्वाललगायतका नेताहरू केही दिनअघि काठमाडौंस्थित थापाको निवासमै पुगेका थिए।
भेला बैशाख ३ गते हुने निश्चित भए पनि स्थानको टुङ्गो भने लागिसकेको छैन। यस विषयमा निर्णय गर्न आजभोलिमा नै समितिले अन्तिम टुङ्गो लगाउने सचिव भण्डारीले बताएका छन्। महामन्त्री थापाको बारा आगमनले स्थानीय काङ्ग्रेस कार्यकर्ताहरूमा उत्साह छाएको छ।

















