Logo

११ चैत,काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको लागि गठित कार्यदलको पहिलो बैठक आइतबार साँझ सम्पन्न भएको छ। दुवै दलका नेताहरूबीच पार्टी एकीकरणका लागि सकारात्मक छलफल भएको र महत्वपूर्ण विषयमा सहमतिउन्मुख भएको जनमत पार्टीका प्रवक्ता एवं कार्यदल सदस्य डा. शरदसिंह यादवले जानकारी दिएका छन्।

बैठकमा पार्टीको अध्यक्ष, संरक्षक, सहअध्यक्ष, चुनाव चिह्न र पार्टीको छाप जस्ता महत्वपूर्ण विषयमा छलफल भएको थियो। प्रवक्ता यादवका अनुसार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत एकतापछि बन्ने ’नागरिक जनमत पार्टी’को अध्यक्ष रहने गरी छलफल अगाडि बढेको छ।

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई एकीकृत पार्टीको संरक्षकको जिम्मेवारी दिने सहमति भएको छ भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने भएकी छन्। प्रस्तावित पार्टीको नाम ’नागरिक जनमत पार्टी’ रहने र चुनाव चिह्नको रुपमा नागरिक उन्मुक्ति पार्टीको ढकियालाई निरन्तरता दिने सहमति जुटेको यादवले बताए।

’केही कुरा टुंगिए जस्तो नै छ। विधान मण्डल नागरिक उन्मुक्ति पार्टीले गठन गरिसकेको छ। हाम्रो प्रस्तावित विधान धेरै पानाको छ भने उहाँहरुको अलि कम छ। दुवैतर्फको विधानलाई कसरी मिलाउने भन्ने विषयमा छलफल अगाडि बढेको छ,’ प्रवक्ता यादवले भने। उनले एक साताभित्रै धेरै विषयमा सहमति जुट्ने गरी छलफल अगाडि बढेको जानकारी दिए।

दुई दलबीच एकता प्रक्रियालाई अगाडि बढाउन जनमत पार्टीको तर्फबाट अब्दुल खान, डा. शरद सिंह यादव र बाल गोविन्द चौधरी सदस्य रहेका छन् भने नागरिक उन्मुक्ति पार्टीको तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारु कार्यदलमा रहेका छन्। यो सहमतिले दुई दलबीचको एकता प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार