११ चैत,काठमाडौं । नेकपा (एमाले) ले हालै सम्पन्न सचिवालय बैठक र केही मिडियामा प्रकाशित समाचारहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारहरूमा सत्यता नभएको र अतिरञ्जित गरिएको उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमा पूर्व राजावादीहरूको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले दिएको भनी प्रकाशित गरिएका विषयहरू निराधार रहेको र त्यसले अनावश्यक सनसनी फैलाउने तथा नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय राखेको दाबी गरिएको छ।
महासचिव पोखरेलले नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयन भएको स्पष्ट पार्दै संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनताले लोकतन्त्रको विकल्पमा निरङ्कुशतन्त्रलाई स्वीकार्न नसक्ने बताए । उनले इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्ने विश्वास व्यक्त गरेको छन्।
नेकपा (एमाले) र वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुनै पनि विषयलाई कुटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारीलाई अगाडि बढाउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
महासचिव पोखरेलले परराष्ट्र नीति र वाह्य सम्बन्ध जस्ता संवेदनशील विषयमा कुनै समाचार वा टिप्पणी प्रस्तुत गर्नुअघि पार्टीको आधिकारिक धारणा बुझेर मात्र प्रकाशन वा प्रसारण गर्न पार्टी सम्बद्ध सबैलाई आह्वान गरेको छन्।
उनले भन्नुभएको छ, “हाम्रो पार्टी नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन दृढ छ र हामी सधैँ दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिन्छौँ।“
नेकपा (एमाले) को यो विज्ञप्तिले हालैका मिडिया रिपोर्टहरूमा आएका नकारात्मक टिप्पणीहरूलाई खण्डन गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने पार्टीको प्रतिबद्धतालाई स्पष्ट पारेको छ।


















