
११ चैत,बारा । बिरगंज महानगरपालिका वडा नं. २९ रत्नपुरीमा करिब १० वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको स मिलका सम्पूर्ण उपकरणहरू नियन्त्रणमा लिइएको छ । डिभिजन बन कार्यालय पर्साबाट अधिकृत अरिफ हुसैनको कमाण्डमा गएको बन टोलीले स मिलको औजारहरु नियन्त्रणमा लिएको डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।
उक्त स मिलका सञ्चालक नुरहोदा खानले सञ्चालन गरेका थिए ।केही दिनअघि सोही स मिल नजिकबाट अवैध काठ चिरान गरिरहेको अवस्थामा बरामद गरिएपछि डिभिजन बन कार्यालय पर्साले आवश्यक कागजात पेश गर्न निर्देशन दिएको थियो। तर, तोकिएको समयभित्र कागजात उपलब्ध गराउन नसकेपछि स मिल अवैध रूपमा सञ्चालित रहेको प्रमाणित भएको थियो।
त्यसपछि डिभिजन वन कार्यालय पर्सा, सबैया सब–डिभिजन वन कार्यालय, बड्निहार सब–डिभिजन वन कार्यालय, जनपथ प्रहरी तथा सशस्त्र प्रहरीको सहकार्यमा स मिलमा रहेको सम्पूर्ण उपकरण नियन्त्रणमा लिइएको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिए ।
नियन्त्रणमा लिइएका उपकरणहरूमा मेसिन, औजार, अरा, दमकल लगायतका सामग्री समावेश छन्। ती सबै सामग्रीहरू हाल डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताए ।