Logo

१२ चैत,वीरगञ्ज । वीरगञ्जमा यस वर्षको चैती छठ पर्व मनाउन तयारी भइरहँदा, बारा जिल्लाका उद्योगहरूले सिर्सिया नदीमा निरन्तर प्रदूषित पानी मिसाउँदा नदी थप प्रदूषित हुने सङ्केत देखिएको छ। वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रका उद्योगहरूलाई नियन्त्रण गरे पनि बाराका उद्योगहरूको अटेरीले नदीको प्रदूषण स्तर बढाएको हो।

महानगरपालिकाका वातावरण अधिकृत प्रकाश ऐरले बाराका जीतपुरसिमरा र परवानीपुर क्षेत्रका कृष्ण डाल्डा उद्योग, शिवशक्ति र नन्दन घ्यू उद्योग, कोहिनूर टेक्सटाइल्स, अमृत तेल रिफाइनरी, महालक्ष्मी तेल रिफाइनरी र नारायणी तेल मिलले खेत हुँदै प्रदूषित पानी नदीमा मिसाइरहेको बताए। अनुगमन टोलीलाई उद्योगमा प्रवेश गर्न समेत नदिइएको र आधिकारिक अनुमतिपत्रको समेत बेवास्ता गरिएको उनको भनाइ छ।

ऐरका अनुसार सिर्सिया नदीको प्राकृतिक मुहान सुकेकाले नदीमा औद्योगिक फोहोर पानी मात्र बगिरहेको छ र ८५ प्रतिशत प्रदूषण बाराका उद्योगकै कारण बढेको हो। वीरगञ्ज महानगरपालिका क्षेत्रका उद्योगहरूले भने प्रदूषण नियन्त्रणमा सुधार गरेको उनले जानकारी दिए।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले तीन वर्षअघि नदीलाई प्रदूषणमुक्त बनाउने अभियान थाले पनि बाराका उद्योगहरूको असहयोगका कारण नदी पुनः गम्भीर प्रदूषणको चपेटामा पर्न सक्ने देखिएको छ। महानगरपालिकाले भने नदी सफा राख्न अनुगमन जारी राख्ने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित समाचार