१२ चैत,काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौंमा हुने भएको छ। संगठनको हालै बसेको पदाधिकारी बैठकले काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांकेटमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
प्रेस सेन्टरले महाधिवेशनको मिति र स्थानबारे संगठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई परिपत्रमार्फत जानकारी गराएको छ। महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको महासचिव सन्तोष पौडेलले बताएका छन्।
महाधिवेशन सम्पन्न गर्न आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रदेशका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र केन्द्रीय पदाधिकारीसहितको टोलीले एक हप्तासम्म आर्थिक संकलन अभियान चलाउने निर्णय भएको छ। यसका साथै महाधिवेशनलाई आत्मनिर्भर बनाउन सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले स्वैच्छिक आर्थिक सहयोग गर्ने निर्णय पनि गरिएको छ।
बैठकले लेवी र नवीकरण शुल्क नबुझाएका सदस्यहरूलाई महाधिवेशनमा भाग लिन नदिने नियमलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। सहभागी सबै प्रतिनिधिले अनिवार्य रूपमा प्रवेश शुल्क बुझाउनुपर्नेछ। महाधिवेशनमा केन्द्रीय समिति, प्रदेश समितिका पदाधिकारी, शाखाका अध्यक्षसहित छानिएका ८५० जना प्रतिनिधि सहभागी हुने बताइएको छ।
महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न संगठनका पूर्व अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति र संस्थापक खिलबहादुर भण्डारीको संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। महाधिवेशनले २९ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। यसका साथै १५ सदस्यीय नीति तथा परामर्श समिति, सात सदस्यीय अनुशासन समिति र सात सदस्यीय लेखा समिति पनि चयन गरिनेछ।















