१२ चैत,चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनको डिजिटल डिस्प्ले ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको छ। उक्त घटनापछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका कार्यालय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यालय तोडफोड गरेका छन् ।
प्राधिकरणका अनुसार सोमबार करिब १२ बजेतिर भरतपुर वितरण केन्द्रमा ग्राहकको सहजीकरणको लागि राखिएको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्रीलाई गालीगलौज र अपशब्दसहितको नारा अपलोड गरिएको थियो। बोर्डमा ’केपी चो…देश छोड’ लेखिएको थियो।
प्राधिकरणले यस गैरकानुनी कार्यप्रति आपत्ति जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइमअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरेको जनाएको छ।
तर, मंगलबार बिहान १० बजे ३५–४० जनाको समूह कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई कुटपिट गरेको प्राधिकरणले जनाएको छ।
यस घटनापछि सार्वजनिक सेवा प्रवाह गर्ने प्राधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको जनाउँदै तोडफोडमा संलग्नलाई सजायको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।


















