
१३ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा ४७औं नेत्र ज्योति दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। “हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी” भन्ने नाराका साथ सम्पन्न भएको उक्त शिविरमा १६८ जनाले आँखा जाँच गराएका थिए, जसमा प्रहरी र कैदीबन्दी दुवै समावेश थिए।
नेपाल नेत्र ज्योति सङ्घ पर्साको आयोजनामा भएको शिविरको अध्यक्षता सङ्घका सभापति भगवती चौधरीले गर्नुभएको थियो। प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल र विशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले आँखा जाँच गराएर शिविरको उद्घाटन गरेका थिए।
सभापति चौधरीले प्रहरीको आँखाको स्वास्थ्य जाँच गर्नु एकदमै महत्वपूर्ण रहेको बताएका छन्, उनीहरूले प्रहरीका लागि यस्ता सेवा नियमित रूपमा आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए। शिविरमा कार्यक्रममा विभिन्न शाखाका प्रहरी लगायत हिरासतमा रहेका ३२ जना कैदिहरु र प्रहरिमा ८ महिला पुरुष १२८ गरि १६८ जनाको आँखा जाँच गरिएको थियो।
कार्यक्रममा मधेश प्रदेशका उपाध्यक्ष उमेश गुप्ता, निवर्तमान सभापति मधु राणा, सचिव सीताराम उपाध्याय, गणेश प्रसाद साह, वसन्त गुप्ता, समिता उत्तम कर्ण, सुनिता नेपाल, दिना गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
प्राविधिक सहयोग अञ्जली चौधरी र सचिन कुमार गुप्ताले गरेका थिए भने, रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पतालले चस्मा र आँखासम्बन्धी औषधि वितरण गरेको थियो।