
१३ चैत,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् उपभोग गर्ने गरिब उपभोक्तालाई विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
मंगलवार आयोजित प्राधिकरणको सञ्चालक समितिको बैठकमा उक्त निर्णय गरिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, अहिले २० युनिटसम्म विद्युत् उपभोग गर्ने उपभोक्ताले मासिक ३० रुपैयाँ सेवा शुल्क तिर्नु पर्छ, जसमा ५० प्रतिशत छुट दिइनेछ। यस निर्णयको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गरिने बताइएको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि यो छुट लागू हुनेछ।
त्यस्तै, २० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब र साना ग्राहकहरूको मिटर रिडिङ पनि अब प्रत्येक महिना होइन, तीन महिनामा एकपटक गरिने निर्णय गरिएको छ। यसअघि सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको थियो।