
१४ चैत, वीरगञ्ज । कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा जित हासिल गरेको छ।
कोलकाताले बुधवार राजस्थानलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित दर्ता गर्यो । कोलकाताले १ सय ५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै ६१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९७ रन जोडे ।
अंगकृष्ण रघुवंशी १७ बलमा २२ रनमा अविजित रहे । कप्तान अजिक्या राहाणे १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रनमा आउट भए ।
ओपनर मोइन अलि ५ रनमा आउट भए । राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो ।
राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए । उनले २८ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए । ओपनर सञ्जु स्यामसनले ११ बलमा १३ तथा नितिश रानाले ९ बलमा ८ रन जोडेका थिए ।
ओपनर यशस्वी जैसवाल २४ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रनमा आउट भएका थिए । कप्तान रियान पराग १५ बलमा ३ छक्काको सहयोगमा २५ रन जोड्दै आउट भएका थिए । जोफ्रा आर्चर ७ बलमा २ छक्काको सहयोगमा १७ रन जोड्दै आउट भए ।
कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए ।
पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकाता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ । पहिलो खेलमा राजस्थान सनराइजर्स हैदरावादसँग पराजित भएको थियो ।