
वीरगञ्ज, चैत १४ः रूंगटा वेलफेयर सोसाइटी र रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा वीरगञ्जमा सम्पन्न भएको निःशुल्क कान शल्यक्रिया शिविरले ९० जनालाई नयाँ जीवन दिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान उपचार केन्द्रमा चैत ११ गतेदेखि १४ गतेसम्म चलेको शिविरमा ११० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।
उक्त शिविरमा ३१ जना पुरुष, ४२ जना महिला र १७ जना बालबालिकासहित ९० जनाको सफल कान शल्यक्रिया गरिएको आयोजक संस्थाले जनाएको छ। यस निःशुल्क सेवाबाट बारा, पर्सा, रौतहट लगायतका जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत बिरामीहरू लाभान्वित भएका छन्।
रिलिफ सोसाइटी अफ कमर्स पर्सा, वीरगञ्जका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा र प्रमुख अतिथि मुर्लीधर रूंगटाको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। रिलिफ सोसाइटी अफ कमर्स वीरगञ्ज पर्साका महासचिव निरज अग्रवालले दिएको जानकारी अनुसार, यस शिविरसहित अहिलेसम्म १ हजारभन्दा बढी व्यक्तिले निःशुल्क कान शल्यक्रियाबाट लाभ उठाइसकेका छन्।