
१४ चैत,सेढवा । मौसम परिवर्तन भएसँगै पर्साको ग्रामीण भेगमा बिभिन्न किसिम्मको रोगका प्रकोपहरु देखा पर्न थालेका छन । बिहान र बेलुका अत्यधिक जाडो र दिउँसोको समयमा गर्मी बढेका कारण बिभिन्न थरिका रोगका संक्रमित बिरामीको संख्या बढिरहेका छन् ।
बढीजसो रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला, छालामा संक्रमण तथा आँखा पाक्ने लगायतका रोगका संक्रमित हुन थालेका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं.– २ मा रहेको गादी स्वास्थ्य चौकीमा इन्चार्ज रियाज खानका अनुसार रुघाखोकी, झाडा पखालाको बिरामी स्वास्थ्य चौकीमा उपचार गराउन आउनेको संख्यामा बृद्धि भएको छ ।
यस्ता बिरामी दैनिक २५÷३० जनाको संख्यामा आउने गरेको इन्चार्ज खानले बताए । उता जिराभवानी गाउँपालिका वडा नं २ मा रहेको सेढवा स्वास्थ्य चौकीमा पनि समान्य अवस्थाभन्दा ५० प्रतिशत बिरामीहरु उपचारका लागि आउने गरेका इन्चार्ज ज्ञानकिशोर प्रसादले बताए ।
त्यस्मध्य अधिकाशं बिरामी रुघाखोकी, भाइरल ज्वरोको बिरामी रहेको इन्चार्ज प्रसादको भनाई छ । पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सलेन्द्र मिश्राले अहिले जाडो मौसम सकिएर गर्मी मौसम शुरु भएकोले रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढनु स्वभाविक रहेको बताए ।
यसका साथै छालामा इन्फेक्शन, आखा पाक्ने लगायतका स्वास्थ्य समस्या देखा परिरहेको प्रमुख मिश्राले बताए । स्वास्थ्यमा देखिएका यस्ता समस्याहरूको औषधीको अभाव हालमा नरहेको भए पनि पालिकामा रहेका १० वटा स्वास्थ्य चौकीमा जेनतेन गरी पु¥याउने काम भइरहेको प्रमुख मिश्राले बताए ।