
१५ चैत, रौतहट । गौर नगरपालिकाले अनुमति बिना निर्माण थालेको प्रवेशद्वारको काम सडक डिभिजन चन्द्रनिगाहपुरले रोकेको छ । डिभिजन प्रमुख अरुणकुमार लाल कर्णका अनुसार सो क्षेत्र डिभिजनको अधिकारभित्र पर्ने भएकाले अनुमति नलिई गरिएको निर्माण अवैध मानिएको छ ।
नगरपालिकाले अनमोल निर्माण सेवासँग सम्झौता गरी सडकको दुबैतर्फ पिलर बनाइसकेको थियो । तर, मापदण्ड अनुसार २०० मिटर दुरीसम्म चोक नहुनुपर्ने नियम पालना नभएको डिभिजनको दाबी छ ।
काम रोकिएपछि नगरपालिकाले अनुमतिका लागि निवेदन दिएको छ । डिभिजनले सो निवेदन सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयमा पठाएको छ ।
स्थल अनुगमनपछि प्रवेशद्वार निर्माण हुने नहुने निर्णय गरिने कार्यालय प्रमुख सुवराज न्यौपानेले जानकारी दिएका छन् ।