Logo

१५ चैत,काठमाडौं । गणतन्त्रको पक्षमा वकालत गर्दै समाजवादी मोर्चामा आबद्ध चार दलले आज काठमाडौंमा व्यापक प्रदर्शन गरेका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेका हुन्।

दिउँसो १२ बजेदेखि सुरु भएको जुलुसहरू कुपण्डोल, बबरमहल, त्रिपुरेश्वर, सोह्रखुट्टे, डिल्लीबजार, मैतीदेवी, सुन्धारा र न्युरोड गेटबाट निस्किएका थिए। फरक–फरक स्थानबाट आएका यी जुलुसहरू प्रदर्शनीमार्गमा पुगेर विशाल सभामा परिणत भएका छन्।

सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

समाजवादी मोर्चाले सरकारको कुशासन र गणतन्त्रविरोधी गतिविधि बढेको भन्दै खबरदारी गर्न यो प्रदर्शन आयोजना गरेको जनाएको छ।

यसैबीच, आजै गणतन्त्रको विपक्षमा रहेका समूहले पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछन्।

यसरी आज काठमाडौंमा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शनहरू भएका छन्।


सम्बन्धित समाचार