
१६ चैत, वीरगञ्ज । पर्सागढी नगरपालिका वडा नम्बर ९ का २३९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरिएको छ। वडा नम्बर ९ को एकटांगामा शुक्रबार आयोजित एक कार्यक्रममा उनीहरूलाई निस्सा वितरण गरिएको हो।
वडा नम्बर ९ का वडाध्यक्ष रामबढाई यादवको अध्यक्षता र राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक आरती भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भूमि आयोगले गरिब निमुखाको हकमा काम गरेको बताए। उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या र समाधानको अभियान पर्सागढीबाट सुरु भएको बताए।
निस्सा वितरणपछि अब नाप नक्सा गरी चाँडै लालपुर्जा वितरण कार्यमा भूमि आयोग लाग्ने अर्यालले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमि आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले निस्सा वितरणपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण कार्यमा सहज हुने जानकारी दिए। निस्सा वितरणको केही दिनमै नाप नक्सा, स्थलगत अवलोकन तथा कानुनी प्रक्रिया पूरा गरी असार १५ सम्ममा लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको उनले बताए। उनले पर्सागढीजस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए।
भूमि आयोगका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि आरती भण्डारीले पर्साका सुकुम्बासीहरूको समस्या समाधानका लागि पर्सा आयोगले गरेको कामको प्रशंसा गरिन्। उनले कानुनी जटिलतालाई समाधान गरी नेपालभरिका सुकुम्बासीहरूलाई जग्गा वितरण गरिने बताइन्। उनले ढिला नगरी पर्साका सम्पूर्ण पालिकाका सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य गरिने जानकारी दिइन्।