Logo

१७ चैत, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सिरहाको मिर्चैयामा सञ्चालनमा रहेका १४ निजी स्वास्थ्य संस्थामध्ये १३ वटा अवैध रहेको पाइएको छ।

शनिबार सम्पन्न अनुगमनपछि ती १३ अस्पताल तथा पोलिक्लिनिकहरू अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि भएपछि तत्काल बन्द गराइएको छ। बन्द गरिएका स्वास्थ्य संस्थाहरूमा सिमित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन् ।

त्यसैगरी, १५ शय्याको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड पूरा नगरी २५ शय्याभन्दा बढीको सेवा प्रदान गरिरहेको पाइएपछि, १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार सो अस्पतालमा आधारभूत स्वास्थ्य सेवा, एनेस्थेसिया विशेषज्ञ तथा भेन्टिलेटर सुविधा समेत उपलब्ध नभएको पाइएको छ ।

अनुगमनका क्रममा सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू बिरामी र कुरुवालाई भित्रै छोडेर अस्पताल बन्द गरी फरार भएका थिए। प्रहरीले सोही अस्पतालका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार अनुगमन टोली मिर्चैया पुग्दा सञ्चालन अनुमति नलिएका आठ अस्पताल तथा पोलिक्लिनिकहरू बन्द गरी सञ्चालकहरू फरार भएका थिए ।

मुख्यमन्त्री सिँहले हालसम्म १५७ निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गरिसकेका छन् । तीमध्ये मात्र १७ वटा अस्पताल मापदण्डअनुसार सञ्चालनमा रहेको पाइएको छ। मापदण्ड पूरा नगरेका १०८ स्वास्थ्य संस्था बन्द गरिएका छन् भने नवीकरण नगराएका २५ अस्पताललाई तत्काल नवीकरण गर्न निर्देशन दिइएको छ।

सरकारले स्वास्थ्य सेवामा गुणस्तर कायम राख्नका लागि थप कडाइ गर्दै जाने बताइएको छ।


सम्बन्धित समाचार