Logo

१८ चैत,वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोकस्थित जनकपुर सीता अस्पतालका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ । अस्पताल दर्ता नगरी सञ्चालन गरेको र मापदण्ड उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गत माघ २६ गते अनुगमनका क्रममा अस्पताल दर्ता नभएको र मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको फेला पारेका थिए । त्यसपछि मुख्यमन्त्री सिंहले अस्पताललाई दर्ता गराएर सञ्चालन गर्न निर्देशन दिएका थिए । केही समय अस्पताल बन्द गरिए पनि हालै पुनः सञ्चालनमा ल्याइएको थियो ।

अस्पतालको मुख्यद्वारमा ‘यो अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ’ भन्ने बोर्ड झुण्ड्याइए पनि भित्र उपचार भइरहेको पाइएको थियो । मुख्यमन्त्री सिंह एक कार्यक्रमबाट फर्किने क्रममा अस्पतालमा पाँच जना बिरामीको उपचार भइरहेको देखेका थिए । त्यसपछि उनले प्रहरीलाई बोलाएर म्यानेजर महतो र बिचौलिया मुखियालाई पक्राउ गर्न लगाएका थिए ।

अस्पतालका सञ्चालक डा. प्रमोद यादवसहित अन्य पाँच जना छन् । मुख्यमन्त्री सिंहको कडा निगरानी र कदमपछि अस्पताललाई अनधिकृत रूपमा सञ्चालन गर्ने र मापदण्ड उल्लंघन गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार