Logo

१९ चैत,वीरगञ्ज । वीरगञ्जमा सोनार प्रिमियर लिग (एसपिएल) को पाँचौं संस्करण आगामी चैत २३ गतेदेखि सुरु हुने भएको छ। पर्सा सुनचाँदी कालिगढ संघको आयोजनामा हुने यस टी–२० क्रिकेट प्रतियोगिताले वीरगञ्जका खेलप्रेमीहरूलाई उत्साहित बनाएको छ।

पर्सा सुनचाँदी कालिगढ संघका उपाध्यक्ष कौशलकिशोर सर्राफका अनुसार, प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। यी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ’ए’ मा विशाल किंग्स, घण्टाघर स्टार, एमजिएसटी वारियर्स र जनता साइकल रहेका छन् भने समूह ’बी’ मा कालिगढ संघ, माँ वैष्णव ज्वेलर्स, ओम वारियर्स र शुभम ज्वेलर्स रहेका छन्।

प्रतियोगिताको लागि गत शनिबार वीरगञ्जको होटल आदर्श इनमा खेलाडी अक्सन सम्पन्न भएको थियो। जसमा १ सय ३१ जना खेलाडीले नाम दर्ता गराएकोमा १ सय १४ जना खेलाडी बिक्री भएका थिए। यस संस्करणका खेलहरू डे–नाइट फम्र्याटमा खेलाइनेछन्, जसले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

पर्सा सुनचाँदी कालिगढ संघले यसअघि पनि चार संस्करण सफलतापूर्वक आयोजना गरिसकेको छ। पाँचौं संस्करणलाई पनि भव्य रूपमा सफल बनाउन आयोजकहरूले तयारी तीव्र पारेका छन्।


सम्बन्धित समाचार