
१९ चैत,जनकपुरधाम । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएका तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन्।
मंगलबार प्रदेश प्रमुख भण्डारीले मधेशमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालअधिकार सम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएका यी विधेयकहरू प्रदेश विकासका लागि महत्त्वपूर्ण मानिएको छ।
मधेशमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले मधेश प्रदेशमा पर्यटन प्रवर्धनका लागि आवश्यक नीति तथा योजनाहरू तय गर्नेछ।
त्यसैगरी प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशभर कृषि क्षेत्रमा नवप्रवर्तन, आधुनिकीकरण तथा कृषकहरूको हित संरक्षण गर्ने कानुनी आधार तयार गर्नेछ। प्रदेश बालअधिकार सम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकमा बालअधिकार संरक्षणलाई अझ प्रभावकारी बनाउन यस ऐनमा संशोधन गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवका अनुसार यी विधेयकको कार्यान्वयनबाट मधेश प्रदेशको सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।